काभ्रे :- बीपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।
शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको रामेछाप, सिन्धुली र काभ्रेका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे सो निर्णय गरेका हुन् ।
बाढीपहिरोको जोखिम रहेको भन्दै भोलिदेखि पहिलो चरणमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उक्त विवरणबारे जानकारी गराउन आजै तीन जिल्ला अधिकारीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैछन् ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो । छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।




