काठमाडौँ :- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन गर्दै रुस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताएका छन् ।
रुसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरेको र आफ्ना इरानी समकक्षीलाई प्रस्तावहरू पठाएको पुटिनले पुष्टि गरे । ‘सामान्यतया शान्तिपूर्ण आणविक ऊर्जामा इरानको चासो पूरा गर्न र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाका बारेमा इजरायलको चिन्तालाई सम्बोधन गर्न सम्भव छ,’ उनले भने ।
रुसले इरानको आणविक गतिविधिहरू वरपर चलिरहेको तनावको ‘सम्भावित समाधान’ प्रस्ताव गरेको उल्लेख गर्दै राष्ट्रपति पुटिनले अन्तिम निर्णय भने युद्धमा संलग्न इजरायल र इरानका राजनीतिक नेतृत्वमा नै रहेको उल्लेख गरे । उनले रुस र इरानबीचको उच्चस्तरको विश्वासले कृषि र औषधिमा सहकार्यसहित आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगमा उत्पादक सहयोगका लागि अनुमति दिने पनि बताएका छन् ।
इरानको बुसेहर आणविक ऊर्जा संयन्त्रको निर्माण कार्यसहित अन्य आणविक कार्यक्रममा रुस लामो समयदेखि संलग्न छ । रुसले बुसेहरमा दुई अतिरिक्त रिएक्टर एकाइ निर्माण गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेको जानकारी दिँदै पुटिनले हाल दुई सयभन्दा बढी रुसी विशेषज्ञहरू साइटमा काम गरिरहेको बताए । जारी निर्माण प्रयासमा सुरक्षा सुनिश्चित गर्न मस्कोले इजरायली अधिकारीहरूसँग सम्झौता गरेको उनले खुलाए ।




