
काठमाडौँ :- बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी गएराति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् । उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा आएकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित गरेका थिए । शुक्रबार राति श्रीमान्–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए ।
घटनास्थलमा सीसीटिभी नरहेकाले उनको हत्या, आत्महत्या वा भवितव्य भएको भन्ने खुलेको छैन । सोधपुछका लागि श्रीमान् ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । उनी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन् । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले बताएको छ ।