
काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा ट्रक र विद्युतीय (इभी) गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन ब्रान्डको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँकी १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । उनीहरूको चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचार भइरहेको छ । घटनापछि ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१३ का ग्यालसेन थोकर र इभी गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।