काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यी उपलब्धिहरू कांग्रेसको नेतृत्वमा प्राप्त भएको दाबी गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,’ ।
देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन चाहेको बताए । ‘संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन हामी लाग्नेछौँ,’ उनले भने ।




