काठमाडौँ :- जुम्लामा यस वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको छ। जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न रहेका छन्।
जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको छ। आव २०८१/८२ मा ४ हजार ३२५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर ४ हजार ४४५ हेक्टर पुगेको कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। यद्यपि चालु आवमा २ हजार १२५ हेक्टर क्षेत्रफलमा मात्र स्याउ फल्न सकेको छ।
पछिल्लो समय जुम्लामा स्याउखेती गर्ने किसानको संख्या बढ्दै गएको छ। आव २०८१/८२ मा स्थानीय तथा उच्च घनत्व (फुजी) जातका स्याउको कूल उत्पादन २० हजार ५१२ मेट्रिकटन रहेकोमा चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटनमा सीमित भएको छ। असिना र वेमौसमी वर्षाका कारण करिब १० प्रतिशत उत्पादन घटेको कार्यालयले जनाएको छ।
हाल १ हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ। यस वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान ७ हजार ३५० र व्यापारी ६०३ जना रहेका छन्। नासो र कोसेलीका रूपमा २ हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ।
जिल्लामा ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउखेती भइरहेको छ। यस वर्ष ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएकोमा ४२७ मेट्रिकटन निर्यात गरिएको छ।
जुम्लामा उत्पादन हुने स्याउका प्रमुख जातमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन रहेका छन्। साथै उन्नत जातअन्तर्गत फुजी गाला (इटालियन जात)को खेती पनि हुँदै आएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका नयाँ जातहरू—स्टारकिमसन, डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डेन—को खेतीबारे अध्ययन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ। गत वर्षको तुलनामा उत्पादन घटे पनि स्याउले राम्रो मूल्य पाएकाले किसानको आम्दानी भने बढेको अनुमान गरिएको छ।



