धरान । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादनमा गिरावट आएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार, गत वर्षको तुलनामा यस वर्ष ५ हजार ३९२ मेट्रिकटन धान उत्पादन घटेको हो।
गत वर्ष जिल्लामा २ लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष २ लाख ११ हजार ६७६ मेट्रिकटन उत्पादन भएको जानकारी श्रेष्ठले दिए। जिल्लामा ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ।
गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पु-याएपछि उत्पादनमा गिरावट आएको उनले बताए।
सुचना अधिकारी श्रेष्ठका अनुसार, “सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि पछि अनुकूल मौसमका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा थियो। यो वर्ष रोगकिराको सङ्क्रमण पनि न्यून रहेको थियो, तर कात्तिकको बेमौसमी वर्षाले धान काट्ने समयमा क्षति पुर्याएपछि उत्पादन घट्यो।”
जिल्लामा अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानखेती गर्छन्। सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी प्रमुख धान उत्पादन क्षेत्रका रूपमा चिनिन्छ।



