रुकुम :- यस वर्ष रुकुमपूर्वमा आलु उत्पादन अघिल्लो वर्षको तुलनामा उल्लेख्य मात्रामा बढेको छ। जिल्लाको भूमे र सिस्ने गाउँपालिकाभन्दा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै किसानले आलु खेती गरेका छन्।
पालिकामा अर्ग्यानिक कृषि तथा पशुपन्छी पालन समूहमार्फत १० हेक्टर क्षेत्रमा व्यावसायिक आलु खेती गरिएको समूहकी सचिव जुनकुमारी बुढामगरले जानकारी दिइन्। थबाङ्गी स्थानीय र जनकदेव जातका करिब १२ हजार क्विन्टल बीउ लगाइएकामा अहिलेसम्म करिब २०० मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ। एक हेक्टरमा २०–२५ मेट्रिक टनसम्म आलु उत्पादन हुने आकलन गरिएको छ।
यद्यपि, पहिलो पटक सामूहिक रूपमा राम्रो उत्पादन भए पनि किसान उत्साहित छैनन्। बजार नजिकै नहुनु र लामो समयसम्म भण्डारण गर्न सुविधा नहुँदा आलु कुहिने डरले किसान चिन्तित छन्। समूहका सचिव बुढामगरले बारीबाट निकालिएको आलु सुरक्षित राख्ने ठाउँको अभाव रहेको बताए।
पुथाउत्तरगङ्गा गाउँपालिका कृषि शाखा प्रमुख ओमप्रकाश ओलीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो देखिएको छ। उन्नत जातको बीउ प्रयोग, कृषि प्राविधिकको नियमित परामर्शले उत्पादनमा सुधार आएको उनले बताए।
पालिकाका सबै १४ वडामा आलु राम्रो उत्पादन भएको छ। उत्पादनको यथार्थ तथ्याङ्क संकलनपछि बजार व्यवस्थापनका लागि गाउँ कार्यपालिकामा योजना पेस गरिने प्रमुख ओलीले जानकारी दिए।



