काभ्रे :- काभ्रे जिल्ला बचत संघको नयाँ समितिका लागि आज उम्मेदावरी दर्ता भएको छ । मुख्य तीन दलले संचालक र लेखा समितिमा भागबन्डामा भएको सहमतिलाइ नेकपा एमालेले सहमतिलाइ तोडेर उपाध्यक्ष र एक सदस्यमा सहमती भन्दा बढी उमेदवार खडा गरेको छ ।
नेकपा एमालेलाई अध्यक्ष सहित ४, नेपाली काँग्रेसलाई उपाध्यक्ष, कोषाध्यक्ष सहित ५ र नेपाली कम्युनिष्ट पार्टिलाइ सचिव सहित ३ पद लिने गरी सहमति गरिएको बार्तामा सहभागि एक सदस्यले बागमती छड्केलाइ जानकारी गराएका छन ।
अध्यक्षमा उदयराम कायस्थ निर्विरोध निर्बाचित भएका छन् । संचालक समितिका उपाध्यक्ष र एक सदस्य बाहेक अधिकांशमा निर्विरोध भएको थियो । तर उपाध्यक्षमा निर्मला श्रेष्ठ र सागर कपालीले दर्ता गरेका छन् । एक जना मात्रै उपाध्यक्ष रहनेमा सहमतिलाइ लत्याउदै एमालेका तर्फबाट सागर कपालिले उमेदवार दर्ता गरेपछि उपाध्यक्षमा निर्बिरोध हुन सकेन ।
तेसैगरी सचिव राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य निर्विरोध भएका छन् । संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा, रमेश न्यौपानेले उम्मेदवारी दिएका छन् । पुरुष सदस्य तर्फ एक जनाको उम्मेदवारी बढी परेको छ । नेकपा एमालेकै टिम तर्फबाट एक जना सदस्यमा बढी उमेदवार परेपछि सदस्यमा पनि निर्बिरोध हुन सकेन ।
सहमति अनुरुप नै महिला तर्फ निर्विरोध भएको छ । लेखा समितिमा नवराज केसी र राजकुमार आचार्य निर्विरोध भएका छन् ।
तीन दलको भागवण्डा अनुसार संचालक समितिको अध्यक्ष सहित दुई सदस्य र लेखा समितिमा एक सदस्य नेकपा एमालेको भागमा सहमति भएको थियो । जस अन्तर्गत अध्यक्षमा उदयराम कायस्थ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य, संचालक सदस्यमा विनोद सापकोटा र जान्दवी अधिकारीले उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष सहित कोषाध्यक्ष र दुई संचालक सदस्य तथा एक लेखा समिति सदस्यमा सहमति भएको थियो ।
उपाध्यक्षमा निर्मला श्रेष्ठ, कोषाध्यक्ष जीवन श्रेष्ठ, संचालक सदस्य श्रीकृष्ण न्यौपाने र चन्दा श्रेष्ठ लेखा समिति सदस्यमा राजकुमार आचार्य ले उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सचिव, एक संचालक सदस्य र एक जना लेखा समिति सदस्य लिने सहमति भएको थियो । जसमा सचिव राजन अधिकारी, संचालक सदस्य राजन सापकोटा र लेखा समिति सदस्य नवराज केसीको उम्मेदवारी दर्ता भएको छ । लेखा समितिका लागि आवश्यक ३ वटै पदमा सर्वसम्वत भएको छ ।



