काभ्रे :- वीरगन्जमा हैजाको प्रकोप, स्वास्थ्यकर्मी घर–घरमा सक्रिय| वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मी परिचालन गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले हैजालाई गम्भीर सङ्क्रामक रोग भन्दै कुनै पनि लापरबाही नगर्न चेतावनी दिनुभएको छ। शंका लागेका लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ।
करिब ३० जना एकैपटक झाडापखालाका कारण वीरगन्जको तराई हस्पिटलमा भर्ना भएपछि शंका उत्पन्न भएको थियो। परीक्षणपछि १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिलामा हैजाको जीवाणु पुष्टि भएको नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिनुभयो।
स्रोत पत्ता लगाउन पिउने पानीको नमुना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ। यसैबीच नारायणी अस्पतालमा झाडापखालाका दर्जनौँ बिरामी भर्ना भएका छन् भने पखालाबाट एक पुरुषको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरमा पनि समान समस्या देखिएको छ, जहाँ एक महिलाको मृत्यु भएको भए पनि हैजा हो/होइन भन्नेबारे जाँच भइरहेको अस्पतालले जनाएको छ।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार पर्सा जिल्लामा १० वर्षपछि पहिलो पटक हैजाको प्रकोप देखिएको हो। दूषित खाना वा पानीमार्फत फैलिने यो रोग समयमै उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ।
महानगरले रोकथामका लागि उमालिएको वा निर्मलीकरण गरिएको पानी पिउन, बासी खाना नखान, सफा भाँडा र शौचालय प्रयोग गर्न, तरकारी–सागपात राम्रोसँग पखाल्न र साबुनपानीले हात धुन सबैलाई अपिल गरेको छ।


