काठमाडौँ :- नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनबारे छलफल चलिरहेका बेला थपलिया अचानक अस्वस्थ भई बेहोस भएका थिए ।
तत्काल भक्तपुरस्थित ठिमी अस्पताल पुर्याइएका उनी प्रारम्भिक उपचारपछि निवास फर्किएका थिए । तर, उनलाई मंगलबार पुनः उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि अस्पताल भर्ना गरिएको प्रमुख सचेतक श्रेष्ठले बताए ।












