काठमाडाैं :- संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको नयाँ प्रतिवेदनले विश्वभर नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट सुधार नदेखिएको कठोर टिप्पणी गरेको छ। तथ्याङ्कअनुसार गत वर्ष विश्वका विभिन्न स्थानमा प्रत्येक १० मिनेटमा एक महिला आफ्नै नजिकका व्यक्तिद्वारा हत्या भएकी छन्।
संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (UNODC) र संयुक्त राष्ट्र महिला (UN Women) ले महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२४ मा करिब ५० हजार महिला र बालिकाहरू घनिष्ठ सम्बन्धी वा परिवारका सदस्यकै हातबाट मारिएको उल्लेख गरेको छ।
प्रतिवेदनका अनुसार, हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशत को हत्या आफ्नै जीवनसाथी वा नजिकका आफन्त (जस्तै—बुबा, काका, आमा, दाइ–भाइ) ले गरेका थिए। तुलनात्मक रूपमा पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशत को हत्या नजिकका व्यक्तिबाट भएको पाइयो।
एक सय १७ देशका तथ्याङ्कमा आधारित प्रतिवेदनले दैनिक १३७ महिला, अर्थात् प्रत्येक १० मिनेटमा एक नारीहत्या, दर्ता भएको देखाउँछ। यो सङ्ख्या केही कम देखिए पनि वास्तविक सुधारको सूचक नभएको प्रतिवेदनले स्पष्ट गरेको छ, किनकि विभिन्न देशबाट प्राप्त तथ्याङ्कमा ठूलो असमानता देखिन्छ।
अध्ययनले एक कडुवा तथ्य औँल्याएको छ—“घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बन्दै गएको छ।” दशकौँदेखि उच्च दरमा नारीहत्या हुँदै आए पनि घटनामा घट्दो प्रवृत्ति देखिएको छैन।
विश्वका कुनै पनि क्षेत्र नारीहत्याबाट मुक्त छैनन्। तर अफ्रिका सबैभन्दा प्रभावित क्षेत्र बनेको छ, जहाँ गत वर्ष मात्र २२ हजार महिलाको हत्या भएको छ।
संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सले नारीहत्या स्वतन्त्र रूपमा नघट्ने बताउँदै गम्भीर चिन्ता व्यक्त गरिन्। उनका अनुसार, नारीहत्याको अगाडि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइन तथा अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिने गर्छन्, जसको अन्तिम रूप प्रायः घातक हिंसामा परिणत हुन्छ।
हेन्ड्रिक्सका अनुसार प्रविधिको विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै व्यापक भएका छन्। अनलाइन दुर्व्यवहारका नयाँ स्वरूप—जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने), डिपफेक भिडियो—द्रुत गतिमा बढ्दै छन्।
उनले जोड दिँदै भनिन्, “हामीले अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने गहिराइमा बुझेर कडा कानूनी कार्यान्वयन गर्नुपर्छ। अपराधीहरूलाई घातक हिंसामा उत्रिनु अघि नै जवाफदेही बनाइनुपर्छ।”



